उमेश बस्नेत ११ / १७ / २०२४
“संयुक्त राष्ट्रसङ्घले फेरि इजरायललाई निशाना बनाउँदै, पक्षपातपूर्ण प्रतिवेदन र मनगढन्त आरोपहरूको माध्यमबाट आफ्नै रेकर्ड तोड्दैछ,” इजरायलको विदेश मन्त्रालयले शनिबार राति प्रतिक्रिया दिएको छ।
राष्ट्रसङ्घको विशेष समितिको प्रतिवेदनमा इजरायलमाथि गाजा पट्टीमा ‘जानाजानी मृत्यु, भोकमरी र गम्भीर चोट पुर्याएको’ आरोप लगाइएको छ। प्रतिवेदनमा भनिएको छ कि इजरायलले ‘भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेको’ छ।
तर इजरायलको विदेश मन्त्रालयले ती आरोपहरूलाई ‘झुटा र आधारहीन’ भन्दै कडा शब्दमा अस्वीकार गरेको छ। मन्त्रालयका प्रवक्ता ओरेन मार्मोरस्टेनले एक्समा साझा गरेको विज्ञप्तिमा भनेका छन्, “यो प्रतिवेदनले संयुक्त राष्ट्रसङ्घलाई एउटा यस्तो सङ्गठनमा रूपान्तरण गरेको छ, जसलाई आतंककारी समूहहरूले लोकतान्त्रिक राज्यका नागरिकहरूलाई आक्रमण गर्न प्यादाको रूपमा प्रयोग गरिरहेका छन्।”
संयुक्त राष्ट्रसङ्घको विशेष समितिले भने, “गाजामा इजरायलले घेराबन्दी, मानवीय सहायतामा अवरोध, लक्षित आक्रमण, र नागरिक तथा सहायता कार्यकर्ताहरूको हत्या गरिरहेको छ। यो सब राष्ट्रसङ्घको अपिल, अन्तर्राष्ट्रिय न्यायालयको आदेश र सुरक्षा परिषद्को प्रस्तावको बाबजुद भइरहेको छ।”
तर इजरायलले आफ्नो बचाउमा हमासलाई दोष लगाउँदै भनेको छ, “हाम्रो गतिविधि मात्र हमासको आतंककारी क्षमताहरू नष्ट गर्न निर्देशित छ, गाजाका नागरिकहरूलाई होइन।”
यसैबीच, इजरायलका मुख्य सहयोगी संयुक्त राज्य अमेरिकाले पनि राष्ट्रसङ्घीय प्रतिवेदनको कडा आलोचना गर्दै यसलाई ‘निराधार’ भनेको छ।
यो पहिलो पटक होइन, जब इजरायलले नरसंहारको आरोपको सामना गरिरहेको छ। गत डिसेम्बरमा, अन्तर्राष्ट्रिय न्यायालय (ICJ) मा दायर मुद्दामा गाजामा इजरायलको व्यवहारले संयुक्त राष्ट्रसङ्घको नरसंहार महासन्धिको उल्लङ्घन गरेको दाबी गरिएको थियो। इजरायलले यी आरोपहरू दृढतापूर्वक अस्वीकार गरेको छ।
विदेश मन्त्रालयले थप स्पष्ट पारेको छ, “हमासले आफ्ना नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गर्दछ। गाजाका जनतालाई लक्ष्य बनाउने हाम्रो कुनै पनि उद्देश्य छैन। वास्तवमा, मानवीय सहायताको आपूर्तिलाई निरन्तर रूपमा सहज बनाउन इजरायल पूर्ण रूपमा प्रतिबद्ध छ।”
सहायता एजेन्सीहरू र राष्ट्रसङ्घका समूहहरूले भने गाजामा मानवीय गतिविधिहरू सञ्चालन गर्दा प्रशासनिक समस्यालगायतका प्रमुख अवरोधहरूको सामना गर्नुपरेको बताउँदै आएका छन्।
यो प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको विशेष समितिले तयार पारेको हो, जसलाई १९६८ मा गठन गरिएको थियो। यस समितिलाई इजरायलले कब्जा गरेका प्यालेस्टिनी क्षेत्रहरूमा गरिएका गतिविधिहरूको अनुसन्धान गर्न जिम्मा दिइएको छ।
तस्बिर मा १७ नोभेम्बर २०२४ मा इजरायल र हेजबोल्लाहबीच जारी संघर्षका क्रममा इजरायली हवाई आक्रमणले दक्षिणी लेबनानको खियाम गाउँलाई निशाना बनायो। घटनास्थलबाट बाक्लो धुँवा उडिरहेको देखिन्छ । (तस्बिर: एएफपी)